बङ्गलादेशका प्रधानमन्त्री हसिना र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग परराष्ट्रमन्त्री एनपी साउदले भेटवार्ता गरेका छन् । बङ्गलादेशको राजधानी ढाकामा उनीहरुबीच आज भेटवार्ता भएको हो।

भेटमा दुई पक्षीय हितका विभिन्न विषयबारे छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ। छलफलको क्रममा नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई सुदृढ तुल्याउने, सीमापार कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा व्यापार, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ।

ढाकामा आयोजित छैटौँ इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन मन्त्री साउद शुक्रबार ढाका गएका थिए । हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो।

भारतीय विदेश मन्त्रालय, इन्डिया फाउण्डेशन र बङ्गलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामो सम्मेलन आयोजना भएको थियो। परराष्ट्रमन्त्री साउद आज बेलुकी स्वदेश फर्किदै छन्।

कमेन्ट गर्नुहोस्