काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राईडर्सले चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
चेन्नाईको घरेलु मैदान एमए चेन्नास्वामीमा आईतबार भएको खेलमा कोलकत्ता ६ विकेटले विजयी भएको हो । चेन्नाईले दिएको १ सय ४५ रनको लक्ष्य कोलकत्ताले १८ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
कोलकत्ताको जितमा कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतकीय ईनिङ्स खेले । राणाले ४४ बलमा ६ चौका र १ छक्काको सहयोगमा अविजित ५७ रन बनाए । सिंह ४३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए ।
पहिलो ओभरमा नै ओपनर रहमानउल्लाह गुर्वाजलाई व्यक्तिगत १ रनमा गुमाएको कोलकत्ताले दोस्रो विकेटका रुपमा वेंकटेस अय्यरलाई व्यक्तिगत ९ रनमा गुमाएको थियो । चौथो विकेटका लागि रिंकु सिंह र कप्तान नितिश राणाले ९९ रनको साझेदारी गरेर टोलीलाई जितसम्म पर्याउन योगदान गरे ।
चेन्नाईका लागि दीपक चहरले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । चेन्नाईका लागि शिबम दुवेले ३४ बलमा १ चौका तथा ३ छक्काको सहयोगमा अविजित ४८ रन बनाए ।
डेभोन कन्वेले २८ बलमा ३ चौका ३० रन बनाए । रविन्द्र जडेजाले २४ बलमा २० रन बनाए । ऋतुराज गायकवाडले १३ बलमा २ चौकाको सहयोगमा १७ रन बनाए । कोलकत्ताका लागि वरुण चक्रवर्ती र सुनिल नारेनले समान २र२ तथा बैभब अरोरा र शार्दुल ठाकुरले समान १÷१ विकेट लिए ।
जितसँगै तेह्र खेलमा ६ जित र ७ हारका साथ १२ अंक सहित कोलकत्ता सातौं स्थानमा रहेको छ । तेह्र खेलमा ७ जित र ५ हारका साथ १५ अंकका साथ चेन्नाई दोस्रो स्थानमा कायमै रहेको छ ।