काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा गुजरात जायन्ट्सले ओपनर शुभमन गिलको शतकको सहयोगमा सनराईजर्स हैदराबादलाई पराजित गरेको छ ।
सोमबार राती घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हैदराबादलाई ३४ रनले परजित गर्दै गुजरात प्रतियोगिताको प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । गुजरातले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र बनायो ।
हैदराबादका लागि हेनरिच क्लेसनले ४४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । भुवनेश्वर कुमारले २६ बलमा ३ चौकाको सहयोगमा २७ रन बनाए । मंयक मारकन्डे १८ तथा पैजल हक फारुकी १ रनमा अविजित रहे ।
गुजरातका लागि मोहिल शर्मा र मोहम्मद सामीले समान ४र४ तथा यश दयालले १ विकेट लिए । सामीले ४ ओभरमा २१ रन खर्चिदाँ शर्माले ४ ओभरमा २८ रन खर्चिएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनायो । गुजरातका लागि ओपनर शुभमन गिलले ५८ बलमा १३ चौका र १ छक्काको सहयोगमा १ सय १ रनको शतकीय ईनिङ्स खेले ।
आइपीएलमा पहिलो शतक गिलले ५६ बलको सहयोगमा बनाएका थिए । सुरुआत राम्रो हुन नसकेको गुजरातले ईनिङ्सको तेस्रो बलमा नै ओपनर ऋद्धिमान शाहलाई गुमाएको थियो । तर, दोस्रो विकेटका लागि ओपनर गिल र साई सुदर्शनले १ सय ४७ रनको शतकीय साझेदारी गरेका थिए । सुर्दशनले ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४७ रन बनाए । गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
१ सय ४६ मा १ विकेट गुमाएको सहज स्थितिमा रहेको गुजरातले थप ४२ रन बनाउँदा ८ विकेट गुमायो । हैदराबादका लागि भुवनेश्वर कुमारले ४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । टी नटराजन,फैजल हक फरुकी र मार्को यानसनले समान १/१ विकेट लिए ।
जितसँगै तेह्र खेलमा नौ जित र चार हारका साथ दश टोली सहभागी लिगमा अठार अंक सहित गुजरात शीर्ष स्थानमा कायमै रहेको छ । हारसँगै प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको हैदराबाद बाह्र खेलबाट चार जित र आठ हारका साथ नवौं स्थानमा रहेको छ ।