काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रीय नेतालाई भूगोलको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीले आज जारी गरेको प्रेस विज्ञप्तिमा यही जेठ १ गते सोमबारदेखि आजसम्म धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य समितिको बैठकले अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरू परिमार्जनसहित पारित गरेको उल्लेख गरिएको छ । यसैगरी, राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बैठकले पार्टीको हरेक समिति र तहमा महिलालाई कम्तीमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवा निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने, सरकारी कर्मचारीको सङ्गठन नबनाउने, विद्यार्थी सङ्गठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको छ ।
यस्तै बैठकले संसदीय दलको विधान पारित गर्ने तथा यसअघि कार्यसम्पादन बैठकका निर्णय अनुमोदन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।