राष्ट्रिय सभाका सदस्य भन्छन : संसद् विकास कोष राख्न हुन्न

काठमाडौं । राष्ट्रिय सभाका सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिक रुपमा भेट गरेका छन् ।

आज संसदको संयुक्त बैठकपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा सांसदहरुले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत सांसद विकास कोषमा रकम विनियोजन गर्न सरकारमाथि भइरहेको दबाबबारे ध्यानाकर्षण गराएका हुन् ।

भेटमा नेपाली काँग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रिय सभा संसद् विकास कोष राख्न नहुने पक्षमा रहेको बताइन् । तर, बजेटमा समावेश भए राष्ट्रिय सभा सदस्यलाई पनि सांसद विकास कोषको बजेट व्यवस्था हुनुपर्ने उनको माग थियो ।

राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनको समान हैसियत भएकाले आफूहरूलाई विभेद गर्न नहुने तर्क उनको थियो । नेकपा (एमाले) संसदीय दलका नेता देवेन्द्र दाहालले पनि आफूहरू मुलुकको वर्तमान अर्थ सङ्कटका कारण सांसद विकास कोष राख्न नहुने पक्षमा रहेको बताए ।

उनले सांसद विकास कोषमा रकम विनियोजन गरिए राष्ट्रिय सभाका सदस्यलाई विभेद नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । भेटमा प्रधानमन्त्री प्रचण्डले सरकार पनि सांसद विकास कोष राख्ने पक्षमा नरहेको बताए । उनले राख्नुपरेको अवस्थामा दुवै सदनलाई विभेद हुन नदिने विषयमा आफू सकारात्मक रहेको बताए ।

कमेन्ट गर्नुहोस्