एमसीसीका उपाध्यक्षले गृहमन्त्रीसँग भने- ‘एमसीसीमा व्याख्यात्मक टिप्पणीलाई स्वागत गरेका छौं’

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र एमसीसी परियोजनानाको प्रगति बुझ्न नेपाल आएका अमेरिकी एमसीसी परियोजनाका क्षेत्रीय ‘डेपुटी भाइस प्रेसिडेन्ट’ जोनाथन ब्रुक्सबीच आज शिष्टाचार भेटवार्ता भएको छ।

डेपुटी भाइस प्रेसिडेन्ट ब्रुक्सलाई आफ्नो कार्यालयमा स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालले अमेरिकासँगको सम्बन्धलाई सधै प्राथमिकता दिएको बताए। साथै नेपालको विकासमा अमेरिकाले पुर्‍याएको योगदानप्रति उनले धन्यवाद व्यक्त गरे ।

पछिल्लो राजनीतिक परिवर्तनसँगै आर्थिक सामाजिक विकासको जनआकांक्षा पुरागर्ने जिम्मेवारीमा आफुहरू रहेको र युएसएड तथा एमसीसी जस्ता अमेरिकी परियोजनाले नेपाली जनताको आर्थिक सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा लिइएको उपप्रधानमन्त्री श्रेष्ठले बताए। नेपालको संसद्ले एमसीसी अनुमोदन गरिसकेको अवस्थाबीच एक लोकतान्त्रिक तथा विधिको शासन मान्‍ने मुलुकको हिसाबले यसको सफल कार्यान्वयन गरिने उनले बताए ।

साथै, आम जनभावना अनुसार व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गरिएएको उपप्रधानमन्त्री श्रेष्ठले ब्रुक्सलाई स्मरण गराए । उनले संसदले पारित गरेको व्याख्यात्मक टिप्पणीबारे आधिकारिक राय स्पष्‍ट पार्न समेत डेपुटी भाइस प्रेसिडेन्ट ब्रुक्सलाई अनुरोध गरे।

नेपालका लागि अमेरिकी राजदुत डिन आर. थम्पसनसहित गृह मन्त्रालय पुगेका ब्रुक्सले व्याख्यात्मक टिप्पणी नेपाली बहसको महत्त्वपूर्ण पाटो भनेर अमेरिकाले सधैं कदर गरेको र व्याख्यात्मक टिप्पणीलाई स्वागत गरेको स्पष्‍ट पारे। साथै उनले अमेरिकी सहयोगको मुख्य उद्देश्य नेपाल र नेपाली जनताको विकास रहेको बताए।

डेपुटी भाइस प्रेसिडेन्ट ब्रुक्सले नेपालमा एमसीसी परियोजना कार्यान्वयन गर्न स्थापना भएको एमसिए नेपालको कामको प्रशंसा गरे। पाँच वर्षमा यो परियोजना सक्नैपर्ने हुनाले नेपाल र भारतबीच हुने प्रसारण लाइनको सम्झौता सहमति कसरी अगाडि बढ्छ र परियोजना लागु हुने जिल्लाहरूमा प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्‍ति अधिग्रहण, मुआब्जा र रुखरजंगल कटानका कामहरू के, कसरी हुन्छन् भन्‍ने कुराहरू समेत महत्त्वपूर्ण रहेको उनले बताए ।

वातावरणप्रति संवेदनशील भएर परियोजना लागु गर्नुपर्ने र स्थानीय समुदायहरूको जनजीवनरजीविकोपार्जनमा समेत यसले सकारात्मक प्रभाव पार्नुपर्न उनले बताए । भेटघाटमा सँगै रहेकी एमसिए नेपालकी उपकार्यकारी निर्देशक शालिनी त्रिपाठीले परियोजना सहजताका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरू सहितको एउटा वर्कशप आयोजना गर्न लागिएको र त्यसमा सहजीकरणका लागि उपप्रधानमन्त्री श्रेष्ठसँग अनुरोध गरेकी थिइन् ।

उपप्रधानमन्त्री श्रेष्ठले परियोजनाको समयमै सफल सम्पन्नताका लागि आफ्नो साथ र सहजीकरण सधै भैराख्ने बताए।

कमेन्ट गर्नुहोस्