विराटनगर । विराटनगरको १८ भेडियारीमा अवस्थित विराट राजाको दरबार क्षेत्र अधिकांश समय सुनसान हुन्छ । उत्खनन् गरेर निकालिएका केही ऐतिहासिक सामग्रीबाहेक दरबार क्षेत्रको अस्तित्व नै मेटिइसकेको छ । फाटफुट सर्वसाधारणको उपस्थिति रहने विराट राजाको दरबार क्षेत्रमा शनिबार प्रशस्त घुईंचो देखियो ।
महाभारत कालमा पाण्डवहरू गुप्तवासका लागि विराट राजाको दरबारमा आएको किम्वदन्ती छ । वि.सं. २०२७ सालमा नेपाल पुरातत्व विभागले उत्खनन् गर्दा ४० वटा पञ्चमार्क नामक चाँदीका मुद्रा भेटिएको तथ्य सार्वजनिक भएको थियो । त्यसपछि, दरबार क्षेत्रलाई इशापूर्व कालको अवशेष मानिएको छ । राज्यको चासो र संरक्षण नपुग्दा धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको विराट दरबार क्षेत्र लोप हुने अवस्थामा पुगेको थियो । तर शनिबार एकाएक बढेको घुईंचोले सर्वसाधारणको मन तान्यो । केही सम्भावनाहरु देखिए ।
धर्तीले सूर्यका किरणहरु चुम्न नपाई भएको सर्वसाधारणहरुको उपस्थिति वास्तवमै अर्थपूर्ण थियो । पाँच हजार वर्ष पुरानो इतिहासको खोज्ने र त्यसको संरक्षण एवम् प्रचार गर्ने अभिप्रायसहित कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘विराट–बर्जु खुल्ला हाफ म्याराथन’को आयोजना गरेको थियो । म्याराथनको उद्देश्य धार्मिक, प्रकृतिक र ऐतिहासिक दुई पर्यटकीय स्थानहरुको प्रचार गराउनु पनि थियो । करिब २३ किलोमिटर दूरीमा रहेका दुबै क्षेत्र धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक क्षेत्रहरु हुन् ।
सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा पर्ने बर्जु ताल करिब १ सय ५२ बिघामा फैलिएको छ । महाभारतकालिन समयसँग जोडिएको यस तालमा बिभिन्न प्रजातिका माछाहरु भेटिन्छन् भने सय बढि प्रजातिका चराहरु देख्न सकिन्छ ।
कोशी प्रदेशको राजधानी विराटनगरबाट नजिकै रहेका दुबै ऐतिहासिक क्षेत्रहरुको प्रवद्र्धन र विकास गराउने उद्देश्यसहित पर्यटन मन्त्रालयले हाफ म्याराथनको आयोजना गरेको हो । मन्त्रालयको आयोजना र एथ्लेटिक्स संघ मोरङको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा सर्वसाधारणको उल्लेख्य सहभागिता, नेपाल प्रहरी र सशस्त्र प्रहरीको शुरक्षा व्यवस्था रहेको थियो ।
विराटनगरको भेडियारीबाट सुरु भएको म्याराथन बर्जु तालमा पुगेर समापन भएको थियो । जसमा पुरुष तर्फ नेपाली सेनाका म्याराथन धावक नरेन्द्र सिंह रावल प्रथम भएका थिए । उनले १ घण्टा १७ मिनेटमा २३ किलोमिटरको दूरी तय गरेका हुन् ।
प्रतियोगितामा नेपाली सेनाकै सुशील कुमार शाहीले दोस्रो स्थान हाँसिल गरे भने बैतडीका म्याराथन धावक मोहनदेव जोशीले तेस्रो स्थान प्राप्त गरे । त्यस्तै, नेपाली सेनाका होमलाल श्रेष्ठ र श्रीकाश राईले चौथो र पाँचौं स्थान हाँसिल गरे भने सशस्त्र प्रहरीका किरणसिंह बोगटीले छैटौं स्थान हाँसिल गरे ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने रावलले १ लाख रुपैयाँ, द्वितीय हुने शाहीले ७५ हजार रुपैयाँ, र तृतीय हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । चौथो, पाँचौं र छैटौं हुनेले सान्त्वना स्वरुप जनही १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेका छन् । पुरुष तर्फको उक्त प्रतियोगितामा १०१ जनाले प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै, महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छिन् । उनले १९ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । दोस्रो स्थानमा सशस्त्र प्रहरीकीे सिमा थारु चौधरी, नेपाल प्रहरीकी तिर्सना कुमालले तेस्रो स्थान हाँसिल गरिन् भने विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरिन् । महिला म्याराथन तर्फ प्रथम हुने रेखाले २५ हजार, द्वितीय हुने चौधरीले २० हजार र तृतीय कुमालले १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेकी छिन् । प्रतियोगितामा २९ जना महिला सहभागी थिए ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले उद्घाटन गरेर सुरु भएको उक्त म्याराथुन प्रतियोगिता हेर्न दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । म्याराथन रुटमा सर्वसाधारणहरुले खेलाडीलाई पानी वितरण गर्दै हौसला प्रदान गरेका थिए ।
खेलकुद र पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको पर्यटन मन्त्री जीवन आचार्यले बताए । म्याराथनको समापन समारोहमा बोल्दै मन्त्री आचार्यले ऐतिहासिक विराट राजाको दरबार क्षेत्रलाई हिन्दू धर्मालम्बीहरुको महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न सकिने र त्यसबाट विशेष गरी भारतीय पर्यटकहरुलाई आकर्षित गरी नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘सम्भावना भएका पर्यटकीय क्षेत्रहरुको खोजी र विकास गरिनेछ ।’ मन्त्री आचार्यले भने, ‘महाभारतकालिन समयदेखि धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको विराट राजाको दरबार र बर्जु तालको विकास गर्नसक्दा ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु ल्याउन सकिने बुझेको छु । यी क्षेत्रहरुको संरक्षण, विकास र प्रवद्र्धनमा मेरो पूर्ण सहयोग रहनेछ ।’ मन्त्री आचार्यले पर्यटनको माध्यमबाटै नेपालको समृद्धि हुने बताउँदै पर्यटन प्रवद्र्धन र पर्यटकीय क्षेत्रको विकासका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिए । उनले भने, ‘मन्त्री एक्लै वा मन्त्रालयले मात्र सबै काम गर्न सम्भव हुँदैन । यसमा निजी क्षेत्र, पर्यटन व्यवसायी, सर्वसाधारण र पत्रकारहरुको ठूलो सहयोग चाहिन्छ ।’