काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाली महिलाहरूले क्रान्तिकारी आन्दोलनमा अभूतपूर्व किर्तिमानसहितको योगदान नगरेको भए देश परिवर्तनको यो उचाईमा पुग्न सम्भव नहुने बताएका छन् ।
आइतवार विहान अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिद्धारा कोटेश्वरमा आयोजित राष्ट्रिय परिषदको प्रथम बैठक एवम् विद्यान सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले नेपाली महिलाको उल्लेखनीय सहभागितामा भएको जनक्रान्तिको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई थप अधिकार सम्पन्न गराउन क्रान्तिकारी महिलाहरु एकतावद्ध हुनुपर्ने बताए ।
प्रधानमन्त्रीले देशमा ठूलो राजनीतिक परिवर्तनका बाहक नेपाली श्रमजीवी महिला रहेको बताउँदै माओवादी क्रान्तिकारीहरू एकताबद्ध भएर अघि बढ्न सक्दा फेरि ०६४ सालकै अवस्थामा पुग्न सक्ने बताए । अहिले गणतन्त्र विरुद्ध षडयन्त्र भइरहेकाले प्रतिगामीविरुद्ध परिवर्तनकामीहरु एकजुट हुनु पर्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।