काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा अक्सेरेमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै पिएसजी उपाधि नजिक पुगेको हो ।
अक्सेरेमा आइतबार राति भएको खेलमा पिएसजीको जितमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोल गरे । घरेलु टोली अक्सेरेका लासिन सिनायाकोले एक गोल फर्काए ।
डिफेन्डिङ च्याम्पियन पिएसजी दोस्रो स्थानमा रहेको लेन्सभन्दा ६ अंकले अघि छ । उपाधि सुनिश्चित गर्न अन्तिम दुई खेलबाट एक अंक मात्र चाहिन्छ ।
खेलको छैटौं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
५१ औं मिनेटमा सिनायोकोले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो । २४ वर्षीय एमबाप्पेले यो सिजन ४१ खेलमा ४० गोल र ९ असिस्ट दिएका छन् । जसमा ३२ लिग वानमा ३३ गोल रहेको छ ।
पछिल्लो १० लिग वानमध्ये ८ जितेको पीएसजीले गत सिजन मार्सेली र सेन्ट इटिनेको १० फ्रेन्च उपाधिको सर्वकालीन कीर्तिमान बराबरी गर्नेछ । पिएसजीले अब स्ट्रासवर्ग र क्लेरमन्ट फुटसँग खेल्न बाँकी छ ।