काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु-भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयको टोलीले आज सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताए। उनले अहिले काम निकै उपलब्धिमूलक रहेको भन्दै अब नक्खु-भैंसेपाटी क्षेत्रका बासिन्दाहरुले लामो समयसम्म धुलो र सास्ती व्यहोर्नु नपर्ने उल्लेख गरे।
उनले अबको एक हप्ताभित्र सडकखण्डको कालोपत्रे हुने पनि बताए। उनले यसअघि सम्बन्धित निकायहरुसँगको समन्वय कम हुँदा विभिन्न व्यवधान आइरहेकाले आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता जनाए। मन्त्री ज्वालाले आगामी दिनमा देशभरका सडक, पुलहरु निर्माणका लागि अन्तरमन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिबद्धता जनाए।
उनले बजेट प्रस्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने बताए। उनले आगामी दिनमा अनुगमन र निरीक्षणको क्रमलाई तीव्रता दिने बताए। उनले सरकारले महत्वपूर्ण सडकका खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकतामा राख्ने बताए। मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा खाल्डाखुल्डी पुर्ने काम तोव्र गतिमा अघि बढेको आगामी वर्षको बजेटमा खाल्डाखुल्डी पुर्नका लागि रोड एम्बुलेन्सको परिकल्पना गरेको बताए।