लुम्बिनीका तीन मन्त्रीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेशमा सोमबार नियुक्त भएका तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका दाङ २ (१) का राजु खनाल, जनमत पार्टीबाट सामाजिक विकासमन्त्री बनेका रुपन्देही ५(२) का चन्द्रकेश गुप्ता, जसपाका कृषि तथा भूमि व्यवस्था मन्त्री बाँके २ (१) का भण्डारीलाल अहिरले प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

तीनै जना मन्त्रीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार मन्त्रीमा नियुक्त गरे। तीन मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रीपरिषद गठन भएको छ । लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । ८ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा दाङको ३ (१) बाट निर्वाचित चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

विभागीयमन्त्रीको अभावमा बजेट निर्माणमा समस्या परेको दबाब बढेपछि मुख्यमन्त्री चौधरीले सोमबार कांग्रेसबाट १, जनमतबाट १, जसपाबाट १ जना मन्त्री थप गरेका हुन् ।

यसअघि वैशाख १५ गते माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री नियुक्त भएका थिए । माओवादीका मास्कीलाई यसअघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

कमेन्ट गर्नुहोस्