काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् ।
सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि कामीरिता आज बिहान २८ औं पटक सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् ।
कामिरिता आज आज बिहान ९ बजेर २३ मिनेटमा २८औँ पटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएको सेभेन समिट ट्रेक्सले जनाएको छ । उनी एकै साता दुई पटक सगरमाथा आरोहण गर्न सफल भएका हुन् । यसअघि २०१९ मा पनि एक हप्तामा दुई पटक (२३ औ र २४ औ पटक) सगरमाथाको सफल आरोहण गर्न सफल भएका थिए ।
सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न उनले सोमबारदेखि नै आरोहण सुरु गरेका थिए । सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुन् ।