काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पहिलो पटक मन्त्रिपरिषद विस्तार गरेका छन्।
नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाली कांग्रेसकै विरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेकपा (एकिकृत समाजवादी)का मधेश प्रदेश संसदीय दलका नेता गोविन्द न्यौपानेलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका बसन्त कुसवाहा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा सुरिता साह थिइन्। कुसवाहा र साहलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त तीनै जना मन्त्रीलाई मधेश भवनमा एक कार्यक्रमकाबीच मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।