रुकुम पश्चिममा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज विहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । प्रहरीका अनुसार चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार दुर्घटनामा परेर सानीभेरी गाउँपालिका–५ का ४८ वर्षीय देउचन खत्री, सोहि वडाका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका ८ की २२ वर्षीया रेखा केसी खनाल र उनको २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी, दुर्घटनामा परेर सानीभेरी गाउँपालिका–५ कै २३ वर्षीया शितला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाइएको छ ।

दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइतेहरुका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर खत्रीका अनुसार सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ हाँसुदेखि दुलीहुँदै जिल्ला सदरमुकाम खलङगा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोचेखोलामा दुर्घटना भएको हो । जिप अनियन्त्रित भए दुर्घटना भएको बताइएको छ । जिप पूर्णरुपमा क्षतिग्रस्त अवस्थामा रहेको छ ।

कमेन्ट गर्नुहोस्