जाउलाखेलमा भोटो देखाइयो : राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख सहभागी (तस्बिर)

काठमाडौं । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा रथ रहेको ठाउँ जावलाखेलमा भोटो देखाइएको हो ।

भोटो जात्रामा सहभागी हुन उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, ललितपुरका सांसद लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरू जावलाखेल पुगेका छन् ।

काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएकाले आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । भोटो जात्राका अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । अघि दिउँसो हावाहुरीसँगै केहीबेर परेको पानीले प्रसाद ग्रहण गर्ने कार्यक्रम प्रभावित भएको थियो ।

आज भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गाल लगिनेछ । गएको वैशाख ११ गते पुल्चोकबाट रथ तानेर सुरु भएको यसवर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा भोटो जात्रासँगै सकिनेछ ।

तस्बिर

कमेन्ट गर्नुहोस्