रेशम चौधरीकाे सजाय माफी मागसहितको निवेदन राष्ट्रपति कार्यालयमा

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीले बाँकी कैद सजाय माफीको निवेदन दिएका छन् । सजाय माफी माग मागिएको चौधरीको निवेदन गृह मन्त्रालयमार्फत राष्ट्रपति कार्यालय पुगेको छ।

चौधरीको निवेदन बुधबार नै राष्ट्रपति कार्यालय पुगेको हो । चौधरीको निवेदनका आधारमा संविधान र कानुनबमोजिम उनलाई गणतन्त्र दिवसका दिन सजाय माफी दिने प्रक्रिया अघि बढेको हो ।

राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजानेछ । मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेपछि राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय लिनेछन् ।

संविधानको धारा २७६ ले राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने उल्लेख छ । त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को १५९ ले अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ । त्यही व्यवस्थाका आधारमा सरकारले चौधरीलाई सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो ।

 

कमेन्ट गर्नुहोस्