काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा सँग आज भएको भेटवार्तामा उनले यस्तो बताएका हुन् ।जवाफमा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकी मात्र नभएर विकास साझेदार समेत भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्याएको सहयोगका लागि चीनलाई धन्यवाद दिए । उपाध्यक्ष सापकोटाले आगामी दिनमा पनि चीनले सहयोग जारी राख्ने विश्वास व्यक्त गरे ।
चीन भ्रमणमा रहेको निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधि मण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच आज चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो।
सुरुमा एक्लाएक्लै र त्यसपछि पदाधिकारीसहित भेटवार्ता भएको उपाध्यक्ष सापकोटाको निजी सचिवालयले जानकारी दिएको छ। भेटमा दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको थियो।
यही जेठ ५ गते २० सदस्यीय सापकोटा नेतृत्वको पार्टी प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको थियो। सुरुमा ल्हासा र मानसरोबरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ।
भ्रमण सम्पन्न गरी प्रतिनिधि मण्डल १८ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको छ। चीन पुगेको भ्रमण टोलीमा पूर्व सभामुख सापकोटासहित पार्टी सचिव हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्यलगायत सहभागी छन् ।