सिंचाईको व्यवस्था नभएसम्म कृषि क्रान्ति सम्भव छैन : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिँचाईको व्यवस्था नभएसम्म कृषि क्रान्ति सम्भव नरहेको बताएकी छन् ।

खगेरी सिँचाई जल उपभोक्ता समितिको २१ औ वाषिक साधारण सभालाई उद्घाटन गर्दै प्रमुख दाहालले बाली उत्पादन गर्न सबैभन्दा पहिले सिँचाईको व्यवस्था हुनुपर्ने बताइन् ।

भरतपुरमा सिँचाईको १२ महिना प्रबन्ध मिलाउन दीर्घकालिन र वैकल्पिक व्यवस्थाका लागि कामहरु अगाडि बढाईएको बताइन्।

अर्थतन्त्रको मेरुदण्ड कृषि भएकाले प्रयाप्त सिँचाई नभएसम्म उत्पादन वृद्धि गर्न नसकिने उनको भनाई थियो ।

कृषिमा जति नै आधुनिकिरण, यन्त्रीकिरण गरेपनि सिँचाई अनिवार्य हुनुपर्ने औंल्याइन् । भरतपुरका मुख्य सिँचाई आयोजना नारायणी लिफ्ट र खगेरी सिँचाईले पश्चिम चितवनमा सिंचित गर्न नसक्दा कृषकहरु मर्कामा परेको बताइन् ।

नारायणी लिफ्ट सिँचाईको जिर्ण, यन्त्र उपकरणको जडान गर्ने कार्य रु ४० करोडमा ठेक्का भई अघि बढेको र यसको जडान पश्चात १२ महिना सिँचाईको व्यवस्था हुने प्रमुख दाहालले बताइन् ।

पश्चिम चितवनको सुख्खागस्त क्षेत्रमा ४० वटा डिप बोरिङ, एक हजार बढी स्यालो ट्युवेल जडान भई २१ सय हेक्टरमा सिँचाईको सुविधा रहेको बताइन् ।

प्रमुख दाहालले अहिले एक खेती पनि नहुने ठाँउमा ३ पटकसम्म खेती लगाउन सकिने अवस्था बनेको बताइन् ।

भूमिगत सिँचाई परियोजनाले भरतपुरको ९ हजार हेक्टरमा सिँचाई पुराउने लक्ष्यसहित धमाधम कामहरु भएकाले लगभग ४ वर्षभित्र सबै ठाँउमा सजह रुपमा सिँचाई उपलब्ध हुने उनको भनाई थियो ।

–––––

कमेन्ट गर्नुहोस्