काठमाडौं । तीन ठूला दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा सुरू भएको छ।
प्रमुख प्रतिपक्ष दलले संसद अवरुद्ध गरेपछि प्रतिनिधिसभाको काम कार्बाही सुचारु गर्न राजनीतिक तहमा समझदारी बनाउनको निम्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन दलका शिर्ष नेताहरुको बैठक बोलाएका हुन् ।
माओवादी सांसदले तत्कालीन एमाले नेतृत्वको सरकारले पशुपतिमा चढाइएको जलहरीमा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले शुक्रबार संसद् बैठक अवरुद्ध गरेको थियो ।
शुक्रबार दोस्रोपटकका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि आजका लागि बैठक बोलाइएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक मध्याह्न साढे १२ बजेपछि मात्र बसेको थियो । तर, एमालेले अवरुद्ध गरेपछि बैठक स्थगित गरेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।
एमाले अडान नछाडेपछि ३ बजे पनि बैठक बस्न सकेन । त्यसपछि साँझ ६ बजेका लागि बैठक बोलाइएको थियो ।
साँझसम्म पनि सहमति हुन नसकेपछि बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । त्यसअघि नै समहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले पहल थालेका हुन् । बैठकमा तीन दलका शिर्ष नेताहरुका साथै प्रमुख सचेतकहरु सहभागी छन् ।