काठमाडौं । माओवादी केन्द्रका नेता एंव बाग्मति प्रदेशका सांसद युवराज चौलागाईले देश द्रोही शरणार्थी प्रकरणमा धरमराएको एमालेले जलहरी प्रकरणमा सन्तुलन गुमाइरहेको आरोप लगाएका छन् ।
बजेटको मुखमा सदन चल्न नदिइ दबाब सिर्जना गरेर एमालेले सरकारलाई भ्रष्टाचारबारे छानबिन गर्न रोक्ने नियत देखाएको उनले बताए छन् ।
सामाजिक संजाल फेस्बुकमा स्टाटस लेख्दै चौलागाईले अख्तियारमा उजुरी परेर छानविन भैराखेको र महालेखाले पनि प्रश्न उठाएको विषयलाई लिएर एमाले पार्टी नै उत्तेजित हुनु गम्भिर भएको बताएका हुन् ।
उनले सामाजिक संजालमा यस्तो लेखेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बनाउने घोषणा गरे पछि राज्यकोषबाट बजेट छुट्याएर पशुपतिमा जलहरी लगाइएको थियो । १ अर्ब लागत र १०८ किलो तौलको उक्त जलहरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीद्वारा २०७७ फागुन १२ गते उद्घाटन भएको थियो । जलहरी जडानमा अनियमितता भएको भनेर एकातिर अख्तियारमा २०७७ सालमै उजुरी परेर आज सम्म पनि छानबिन भैरहेको छ भने महालेखा प्रतिवेदनले पनि ११ किलो कम तौल र अन्य अनियमितताहरु भएको भन्दै सार्बजनिक गरेको छ । राष्ट्रपति र प्रधानमन्त्री स्वयं जोडिएको यति गंभीर बिषयमा प्रश्न उठ्दा एमाले संस्थात र औपचारिक रुपमै किन उत्तेजित भैरहेको छ ? देश द्रोही शरणार्थी प्रकरणमा धरमराएको एमाले जलहरी प्रकरणमा सन्तुलन गुमाइरहेको देखिन्छ । बजेटको मुखमा सदन चल्न नदिइ दबाब सिर्जना गरेर सरकारलाई भ्रष्टाचारबारे छानबिन गर्न रोक्ने उसको नियत देखिन्छ। तर, यसले एकातिर ऊ प्रति जनतामा झन् नराम्रो सन्देश जानेछ भने अर्को तिर ओली सरकार मुछिएका अन्य भ्रष्टाचार काण्ड जस्तै यति, ओम्नि, वाइडबडि काण्डहरु, वालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रेस काण्ड, कोरोनाकालीन औषधी काण्ड आदि छानवीन गर्न सरकारलाई थप दबाब पर्ने छ । देशको प्रमुख प्रतिपक्षी दल भ्रष्टाचारबारे यतिसारो बिचलित हुंदा देशको बाहिरी छबि, मुलुकको राजनैतिक प्रणाली र स्वयं एमालेबारे के सन्देश जाला ? सोच्ने र निकास दिने जिम्मा एमाले सम्बद्ध साथीहरुकै हो ।