काठमाडौं । प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताएका छन्। प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
जनयुद्धका क्रममा जुन मानसिकताका साथ हाम फालिएको थियो अहिले सुसासन,समृद्धि र भ्रष्टाचारका विरुद्ध त्यहि मानसिकताका साथ हाम फालेको प्रधानमन्त्रीले बताए । विचार,राष्ट्र र जनताको निम्ति नयाँ सकल्पका साथ नयाँ अभियानमा आफु लागेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, – ‘१० वर्षे जनयुद्धको को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौं, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौं । हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ, त्यसैगरी अहिले पनि हामी त्यहि शंकल्पका साथ लागेको छौं।’
प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौं जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा साथ दिने बताए। उनले भने, ‘जसरी १० वर्षे जनयुद्धमा लाखौ करोडौ जनताको साथ पाएका थियौं, त्यसैगरी अब पनि हामी साथ पाउनेछौं। अहिले नदेखिएको मात्रै हो । केहि समय भित्रै ठुला ठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं ।’
अहिले सरकारको नेतृत्व गर्ने अवसर आन्दोलन, वैचारिक लामो संर्घर्षबाट निरन्तर खारिएको नेतृत्वको पहलकदमीले मात्रै सम्भव भएको उनले बताए । उनले युद्ध देखि शान्ति प्रक्रियाको हालको अवस्थामा आइपुग्दाको अनुभवको आधारमा आफु देशको नेतृत्व लिनुपर्ने निर्णयमा पुगेको समेत बताए ।
‘सरकारले सुसासन र समृद्धिको संकल्पका साथ काम सुरु गरेको छ,’ उनले भने, ‘सरकारकाे नेतृत्व गरेर यहाँसम्म आउँदा एउटा नयाँ अन्दोलन नयाँ अभियान र नयाँ सस्कारको सुरुवात हुन खोजेको महशुस जनतामा भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठानले भन्दा पनि संख्याले काम गर्ने बताए। उनले भने,-‘संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ । यो कम्युनिष्टको सभा रहेनछ । बिचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ । देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन् ।’
आफुहरू नेतृत्वमा गएदेखि आफुहरूलाई असफल पार्ने तत्व लागिपरेको भए पनि आफुहरु घेरालाई छिचोल्दै अघि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । उनले भने – ‘हामी नेतृत्वमा बसेको दिनदेखि अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको छ । तर पनि हामी ति घेरालाई छिचोल्दै यो बिन्दुसम्म आइपुगेका छौं । सुशासन र समृद्धि नै प्रमुख लक्ष्य भएकाले अवसर र चुनौती दुबै हाम्रा माझ छ । यहाँसम्म आउदाँ जनतामा एउटा नयाँ अभियार र संस्कारको सुरुवात हुन खोजेको अनुभूति भइरहेको छ ।’
इच्छुक क्रान्तिकारी विचार र निष्ठा भएका क्रान्तिकारी साहित्यकार तथा पत्रकार भएको भन्दै कृष्णसेनको स्मरण गरे । उनले भने-‘कृष्णसेन पद प्रतिष्ठा र व्यक्तिगत लाभ हानीलाई नहेरी निष्ठामा अगाडी बढ्ने योद्धा हुनुहुन्थ्यो । एकपटक मैले उहाँलाई केन्द्रीय समितिमा प्रस्ताव गर्दा अर्को कामरेडलाई त्यो जिम्मेवारी दिन आग्रह गर्नुभयो । पार्टीमा तिब्र वैचारिक बहस र छलफल चल्दा कृष्णसेन जहिले पनि क्रान्तिकारी कित्तामा लाग्नुभयो । जेलनेलको यातना भोग्दा पनि कहिल्यै डगमगाउनु भएन ।’
कृष्णसेनलाई नेपाली समाजले प्रेरणाको रुपमा लिने गरेको समेत बताए ।प्रधानमन्त्री प्रचण्डले सहिदका सपना पुरा गर्नका लागि पनि आफुहरूले अन्तिम लडाई लड्नै पर्ने अवस्था आएको बताए। उनले प्रेस सेन्टर नेपाल जनमत तयार पार्ने अग्रमोर्चामा रहेकाले इमान्दिारिताका साथ र निष्ठाका साथ कृष्णसेन लगायतका सहिदलाई स्मरण गरेर स्वयमसेवी तरिकाले लडाईमा साथ दिन आग्रह पनि गरे । विचार निष्ठाप्रतिको त्याग नै कृष्णसेन इच्छुक प्रतिको सहि सम्मान हुने प्रधानमन्त्रीको भनाई थियो ।