प्रधानमन्त्री प्रचण्ड आगामी बुधबार भारत भ्रमणमा जाने, यस्तो छ भ्रमणको कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार भारत भ्रमणमा जाने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारतको चार दिन लामो औपचारिक भ्रमणमा जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा रहनेछन्। परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक घोषणा गरेका हुन् ।

भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने जानकारी दिइएको छ। प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल पनि जानेछिन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत एचईले आयोजना गरेको स्वागत स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् ।

प्रधानमन्त्रीले शनिबार काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ । नेपालको प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री ‘प्रचण्ड’को यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्रमन्त्रालयले जनाएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो पहिलो विदेश भ्रमण हो।

कमेन्ट गर्नुहोस्