काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा आफूले भ्रमण गर्न लागेको जानकारी गराएका हुन् ।
भ्रमणमा पराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिकमन्त्री प्रकाश ज्वाला र उद्योगमन्त्री रमेश रिजाललगायत सहभागी हुने छन् ।
प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा नेपाल भारतका विविध विषयमा हस्ताक्षर हुने जानकारी दिए । प्रधानमन्त्रीले भ्रमणको विविध चरणमा तयारी भइरहेको बताए । ‘उनले भने, भारतको भूमि हुँदै बंलादेशसम्म जलविद्युत निर्यातको विषयमा समेत यो पटक ठोस कुरा हुने छ । महाकाली पश्चायत २६ वर्ष बितिसक्दा समेत पञ्चेश्वर परियोजना प्रगति हुन सकेको छैन ।
सिचाई र जलविद्युतका लागि महाकाली नदीको पानी समान र साझा उपयोग हुने गरी डिपीआरलाई टुंगोमा पु¥याइने छ’ प्रचण्डले भने, ‘दुई पक्षीय वार्ताको माध्यमबाट तयार गरिएको नयाँ पारवहन सम्धीलाई टुंगोमा पुर्याउने प्रयास समेत यस छलफलमा हुने छ ।’
इतिहासदेखि नै थाती रहेका सीमा विवादका विषयहरू सम्बोधन गर्न ठोस विश्वासको वातावरण बनाउन गरी छलफल गर्ने प्रचण्डले बताए ।
‘नेपालका नदीहरूमा विभिन्न जलविद्युत आयोजना नेपालको हित सुनिश्चित हुनेगरी भारतीय लगानी भित्र्याउने दुई पक्षीय ऊर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायत संरचना निर्माणका विषयमा छलफल हुने छन् । जलविद्युत निर्यातका लागि आधार सुनिश्चित गर्ने हाम्रो प्राथमिकताको विषय हुने छन्’ उनले भने । यस्तै प्रचण्डले सुदूरपश्चिम प्रदेशका जिल्लाहरूलाई भारतसँग जोड्ने मोटरवेल र झुलुङगे पुल निर्माणका सम्बन्धमा छलफल गर्ने बताए ।