आईपीएलको उपाधि चेन्नई सुपर किङ्सलाई

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सीजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ ।

आइतबारको खेल वर्षाले अवरुद्ध भएपछि सोमबार राति भएको खेलमा डक वर्थ लुइस (डिएलएस मेथड) मा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले उपाधि उचालेको हो । योसँगै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि उचालेको छ ।

चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएलको उपाधि हात पारेको थियो । गुजरात टाइटनले दिएको विशाल २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवाती ३ बलमा चार रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

पानी परेपछि फाइनल खेललाई १५ ओभरमा झारेर १ सय ७१ रनको लक्ष्य बनाइएको थियो । सो लक्ष्य चेन्नईले ५ विकेटको क्षतिमा भेट्टाएको हो । त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो ।

दोस्रो सिजन आईपिएल खेलिरहेको गुजरात भने दुवै पटक फाइनल खेलेको छ। अघिल्लो सिजन डेब्यू खेलमै राजस्थान रोयल्सलाई हराउँदै विजेता बनेको गुजरात यस पटक भने उपविजेतामा चित्त बुझाएको छ।

कमेन्ट गर्नुहोस्