आरक्षणको व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेण्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन्।

पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैंगिक समानतायुक्त सभ्य समाज निर्माणमा जोड दिएका छन्।

‘नेपालको संविधान २०७२ ले महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ’, उनको सन्देशमा भनिएको छ, ‘संविधानले ग्यारेन्टी गरेको आरक्षणको यो व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनु आजको आवश्यकता हो।’ यसका लागि विभिन्न नीतिगत तथा संस्थागत प्रयास भइरहे पनि महिला तुलनात्मकरूपमा सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक एवं आर्थिक रूपमा पछाडि परेको उनले बताएका छन्।

महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैंगिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका छन् ।

२०६३ जेठ १६ गतेका दिन तत्कालीन पुनः स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । दिवस ‘महिला हक अधिकार स् सबैको साझा सरोकार’ नाराका साथ मनाउन लागिएको हो।

कमेन्ट गर्नुहोस्