पूर्व महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री मीना पाण्डेको निधन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ । पाण्डेको आज अपराह्न काठमाडौँको गौशालास्थित निजी निवासमा निधन भएको हो ।

विसं २००८ मा जन्मिएकी पाण्डेले विसं २०३५ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन । तीन पटकसम्म काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी स्व पाण्डे विसं २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य थिइन् । विसं २०६४ मा संविधानसभा सदस्य थिइन् ।

उनी काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको दुई पटक सभापति भएकी थिइन् । नेपालमा प्रजातन्त्रको स्थापना र पुनः स्थापनाका क्रममा उनले पटक–पटक जेल जीवनसमेत व्यतीत गरेकी थिइन् । उनको निधनबाट काँग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको जनाएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयले स्व पाण्डेप्रति सम्मान प्रकट गर्दै यही जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने जनाएको छ । यसैगरी जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने जनाएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले उनको निधनप्रति दुःख व्यक्त गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् । पाण्डेको आजै  दाहसंस्कार गरिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्