‘छोराछोरी पनि नहुने भए, अर्को बिहे गर् ।’ ‘बिहे गरेर छोराछोरी भएनन् भने त स्वर्ग पुगिन्न है ।’
यी वाक्यहरु विवाह पश्चात लामो समयसम्म छोराछोरी नहुँदा वा नहुने थाहा भएपछि अधिकांश दम्पतीले सुन्नुपर्छ । सन्तानमा छोरा नै जन्मनुपर्छ भन्ने मानसिकता अझै छ । छोरी मात्र जन्माउने दम्पतीलाई परिवार र समाजले अझै पनि नकारात्मक टीकाटिप्पणी गर्छन् । अझ, छोराछोरी नै भएनन् भने त आलोचना र टिप्पणीको ओहिरो नै लाग्छ ।
इलाम–१० का दुर्गा प्रधान र उर्मिला सुनुवारले यस्ता टीकाटिप्पणी लामो समय सुन्नुपयो । वि.सं. २०७२ मंसिर २ गते विवाह गरेका उनीहरुको पहिलोपटक सन्तानको सपना बुन्दैगर्दा नै सपनाहरु चुँडिए । विवाहको दुई महिना पश्चात उर्मिला गर्भवती भइन् । तर, केही महिना पश्चात उर्मिलाको पेट अधिक दुख्न थाल्यो । विर्तामोडको मनमोहन अस्पतालमा जचाउँन जाँदा पाठेघर बाहिर बच्चा बसेको भन्यो । त्यो पनि जुम्लिया । अपरेशन गरेर बच्चा नफाले आमाको पनि ज्यान खतरामा रहेको डाक्टरहरुले सुझाव आयो । दुर्गा र उर्मिलाले बच्चा फल्ने निर्णय गरे । दुर्भाग्य, दुबै अण्ड नलीमा बच्चा भएका कारण दुबै अण्ड नली काट्नुपर्यो ।
गर्भवती भएको केही महिनामै बच्चा फाल्नुपयो । त्यसमा पनि अण्ड नली काटिएका कारण उर्मिला र दुर्गाबाट दोस्रो पटक बच्चाको प्रयास पनि भएन । मनमा चिन्ता पनि थियो । आलोचनाहरु कताकता सुनिन्थे । उनीहरु नसुनेजस्तो गर्थे । परिवारमा दवाव थियो । तर, बेवास्ता गरिन्थ्यो ।
वर्षहरु बित्दै गए । दुर्गा र उर्मिलाले पनि मनभित्र पीडालाई लुकाएरै वर्षहरु बिताउँदै गए । एकपटक कोही आफन्त बिरामी परेर विराटनगरको नोवल अस्पतालमा राखिएको थियो । इलामबाट बिरामी हेर्नकै लागी दुर्गा विराटनगर पुगे । बिरामी हेर्ने एउटा बाहना भयो, उनले एउटा आशाको झिल्को देखे । नोवल अस्पतालले भर्खरै मात्र आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेवा सुरु गरेको रहेछ । यो यस्तो प्रविधि हो जसमा पुरुषको शुक्रकिट र महिलाको अण्डलाई छनौट गरेर ल्याबमार्फत निषेचन गरिन्छ र केही समय पछि महिलाको पाठेगरमा राखिन्छ । यसमा अण्डा बनाउने, निकाल्ने, पुरुषको बिर्य छनौट गर्ने, ल्याब मार्फत अण्ड र विर्यलाई निषेचन (जोडाउने) गर्ने र महिलाको पाठेघरमा हाल्ने प्रक्रिया हुन्छ ।
नोबल अस्पतालमा प्रसुति एवम् निसन्तान विशेषज्ञ डा. शान्ति सुवेदीबाट आईभीएफ प्रविधिको विषयमा दुर्गाले राम्रो परामर्श पाए । मनमा केही आशाका किरणहरु बोकेर उनी घर फर्किए । लगत्तै उनले श्रीमती र परिवारका अन्य सदस्यहरुसँग परामर्श गरे । एकपटक प्रयास गरेर हेरौं भन्ने सल्लाह भयो । ३७ वर्षका दुर्गा र ३१ वर्षकी उर्मिलालाई सन्तानको अपेक्षा उच्च नै थियो । अण्ड नली काटे पनि सन्तानको विकल्प पाउँदा उनीहरुको खुशी उचाईमा पुग्यो ।
सन्तान प्राप्तिको अपेक्षालाई पुनः व्यूँताउँदै उनीहरु विराटनगरको नोबल अस्पताल पुगे । दुबैको पूर्ण शरीर जाँच गर्दा निषेचन विधिमार्फत बच्चा जन्माउन सकिने सुझाव आयो । डा. सुवेदीले दिएको परामर्श र केही सामान्य उपचारले पूर्णता पाएसँगै दुर्गाको शुक्रकिट र उर्मिलाको अण्डलाई ल्याब मार्फत जोडाउन काम भयो । विवाह भएको ६ वर्ष पछि अर्थात २०७८ फागुनमा उर्मिलाको पेटमा बच्चा रहयो । नियमित चेकजाँच गर्दा आमा र बच्चाको अवस्था राम्रो रहेको र बच्चा पाठेघरमै बसेको जानकारी पाएसँगै दुर्गा र उर्मिला प्रफुल्लित भए । नभन्दै, २०७९ कार्तिक ३० गते उर्मिलाले बच्चालाई सकुसल जन्म दिइन् । ‘मनभित्रको ठूलो चोट हटेजस्तो भयो ।’ दुर्गा भन्छन्, ‘सन्तान नहुँदा पारिवारिक, सामाजिक दवाव थामिनसक्नु हुँदो रहेछ । नोबल अस्पतालले मरिसकेको खुशी व्यूँताइदियो ।’
दुर्गा र उर्मिलाजस्ता हजारौं दम्पती छन् जो आज पनि निसन्तान वा बाँझोपनको समस्याले प्रताडित छन् । विराटनगरको नोबल अस्पतालले २०७८ भदौबाट सुरु गरेको आईभीएफ प्रविधिले धेरै दम्पतीलाई सन्तान दिइसकेको छ भने हजारौंको संख्याले परामर्श पाइसकेको छ । ‘दैनिक ५० भन्दा बढी दम्पतीहरु निसन्तान समस्या लिएर परामर्शमा आउनुहुन्छ ।’ प्रशुति तथा निसन्तान विशेषज्ञ डा शान्ति सुवेदी भन्नुहुन्छ, ‘सबैलाई आईभीएफ नै चाहिन्छ भन्ने पनि हुँदैन । श्रीमानको विर्य कमजोर भएका दम्पतीलाई विर्य छनौट गरेर राखिने र त्यसबाट पनि सन्तान हुने उहाँ बताउनुहुन्छ । जसलाई आईयूआई प्रविधि भनिन्छ ।
‘ढिलो विवाहका कारण पुरुषको शुक्रकिट कमजोर हुने र महिलाको अण्डासयमा अण्डको सञ्चिति नहुने, जथाभावी खानपिन, धुम्रपान र मध्यपान साथै बढी तापक्रमका कारण शुक्राणुलाई असर हुने हुँदा पुरुष वा महिला दुबैको कारण सन्तान नहुन सक्छ ।’ डा. सुवेदी भन्नुहुन्छ, ‘बच्चा हुने उर्वर समयको विषयमा जानकारी नहुँदा पनि निसन्तानको समस्या हुन्छ ।’ निसन्तान दम्पती आफैं सचेत भएर समयमै उचित परामर्श लिनसक्दा बच्चा हुन सक्ने डा. सुवेदीको बुझाई छ ।
नोबल अस्पतालले सुरु गरेको आईभीएफ प्रविधिमार्फत गरिएको बच्चा जन्माउने प्रयासमा करिब ७५ प्रतिशत सफल भएको डा. सुवेदी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘१० वर्षसम्म बच्चा नभएका दम्पतीलाई सामान्य परामर्श दिएकै भरमा सन्तान भएका उदाहरणहरु पनि छन् । यसमा दम्पतीले नलजाई समयमै सम्बन्धित विज्ञसँग परामर्श लिनुपर्छ ।’