राष्ट्रपति पौडेलद्धारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति भवनका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले आज अघिल्लो सङ्घीय संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका हुन् ।

सङ्घीय संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक वि.सं. २०७९ साउन १६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।

विधेयकमा चित्त नबुझेको भन्दै तत्कालीन राष्ट्रपति भण्डारीले आठ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर पुनः भदौ २० गते राष्ट्रपतिसमक्ष पठाएको थियो ।

१५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी थिइनन । त्यही विधेयक नौ महिनापछि प्रमाणीकरण भएको हो ।

कमेन्ट गर्नुहोस्