काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन् ।
मन्त्रालयमा आज राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दामा सरकारको ध्यानाकर्षण भएको बताए । उनले राष्ट्रियहीत विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पारे। गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको बताए ।
उनले भने, ‘‘नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दामा सरकारको ध्यानाकर्षण गराए । नेपाल सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानको पक्षमा दृढ छ। यसमा कहिल्यै कुनै सम्झौता गरिने छैन। यसको प्रतिकुल कुनै काम गरिने छैन। कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको छ। ऐतिहासिक तथ्यका आधारमा छलफल गरिरहेका छौँ। दुई देशको पारस्परिक हितको पक्षमा नै छलफल गर्नुहुनेछ।’’
राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सामा नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध नेपालको भूभाग समेटेकोप्रति ध्यानाकर्षण गराएको छ। भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा आपराधिक क्रियाकलाप गरेको भए पनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारकाले ध्यानाकर्षण गराएको छ।