शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन चीन सहयोग गर्न तयार छ : सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन चीनले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन्।

गत जेठ ५ गते चीन गएका उपाध्यक्ष सापकोटासहितको प्रतिनिधि मण्डलको भ्रमणबारे जानकारी दिँदै उपाध्यक्ष सापकोटाले सो कुरा बताएका हुन्।

पूर्वसभामुख समेत रहेका सापकोटासहिततको टोली बिहीबार साँझ नेपाल फर्किएको थियो।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले असल मित्रको हैसियतमा शान्ति प्रक्रियाका सबै कुराहरु खुलस्त राख्न आग्रह गरेको पनि बताए।

‘नेपालको शान्ति प्रक्रियाको बारेमा पनि चासो राख्नुभएको थियो। हामी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जस्तोसुकै सहयोग गर्न तयार छौं,’ उपाध्यक्ष सापकोटाले भने, ‘बरु, असल मित्रको हैसियतले हामीलाई सबै कुरा खुलस्त भनियो भने सहयोग गर्न सहयोग मिल्छ भन्नुभयो।’

उपाध्यक्ष सापकोटाको नेतृत्वमा २० सदस्यीय पार्टी प्रतिनिधि मण्डल चीन भ्रमणमा गएको थियो।

कमेन्ट गर्नुहोस्