सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि बढनुपर्ने बताएका छन् ।

इन्टरपोलको १०० औं वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई सम्मान व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ‘‘प्रहरी संगठनलाई अझै प्रभावकारी र सफल बनाउन गम्भीर रूपमा आत्मसमीक्षा गर्नैपर्ने बेला आएको बताए ।
उनले भने, ‘‘देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ। जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो। नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्नेगरी काम गरे सरकारको सफलता देखिने छ।’’

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए । इन्टरपोलको १०० औं वार्षिकोत्सवको अवसर पारेर उनी जेठ २ गते सगरमाथाको शिखरमा पुगेका थिए ।

प्रहरीलाई आजको स्थितिमा ल्याउन भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले पूर्व प्रहरी नेतृत्वलाई धन्यवाद दिए । उपपप्रधानमन्त्री श्रेष्ठले भने, ‘‘जनताको जीउधनको सुरक्षा, सामाजिक न्यायसहित समृद्धिको गुणात्मक फड्को नै हाम्रो अहिलेको प्राथमिक कार्यभार हो।’’

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको भन्दै उनले राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिच्किचाउने प्रष्ट पारे ।

‘‘भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने छ। अझै पनि रुपान्तरणका लागि तयार नहुने प्रवृत्ति कहीँ कतै देखिएको छ’’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘‘सरकारले पुरस्कार र दण्डको व्यवस्था गर्नेछ। आफूलाई केन्द्रमा राखेर देश र जनतालाई महत्त्व नदिने केही प्रवृत्ति छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ।’’

कमेन्ट गर्नुहोस्