भ्रष्ट मानसिकताविरुद्ध भित्र र बाहिर सबैतिर सशक्तरुपमा सङ्घर्ष गर्न जरुरी छ : उपमहासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

विकास र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टाचार घातक रोगका रुपमा देखापरेको उल्लेख गर्दै पार्टी स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेलले भ्रष्ट मानसिकताविरुद्ध सबैतिर सङ्घर्ष गर्न जरुरी रहेको औँल्याए ।

“भ्रष्टाचारविरुद्ध एउटा सशक्त अभियान जरुरी छ । अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धका कदम अगाडि बढाएको छ”, उपमहासचिव पोखरेलले भने, “अरु क्षेत्रमा देखा परेका भ्रष्टाचारविरुद्ध पनि पार्टी कार्यकर्ताले सशक्त अभियान चलाउन आवश्यक छ । भ्रष्ट मानसिकताविरुद्ध भित्र र बाहिर सबैतिर सशक्तरुपमा सङ्घर्ष गर्न जरुरी छ ।”

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले दिक्तेलमा आयोजना गरेको माध्यमिक तहको दुई दिने पार्टी स्कुल कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पोखरेलले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई सद्भावना भ्रमणको अर्थमा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको भ्रमणलाई धेरै हौसिने वा नकरात्मक ढङ्गले प्रस्तुत नगर्नसमेत उनले आग्रह गरे ।

“हामीलेछिमेकी राष्ट्रसँगको सम्बन्धलाई महत्वका साथ अगाडि बढाए मात्रै हामी अगाडि बढ्न सक्छौँ”, उपमहासचिव पोखरेलले भने, “यो पक्षलाई हेरेर प्रधानमन्त्री भारत भ्रमणमा जानुभएको छ । म त्यसलाई वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्न सबैमा आग्रह गर्न चाहन्छु ।”

दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पार्टी तथा सरकार लागिपरेको उनको भनाइ छ । “पार्टीले अघि सारेको कार्यदिशा सफल पार्न उच्च, माध्यमिक र आधारभूत तह गरी तीन तहको पार्टी स्कुल कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने ।

पार्टी स्कूल कार्यक्रमलाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्ने उनले बताए । “पछिल्लो समय सामाजिक सञ्जाल हेरेर नेता तथा कार्यकर्ताले आफ्नो अवधारणा बनाउने गरेका छन् । फेसबुके विश्लेषणले काम दिँदैन”, उनले भने, “अहिले राष्ट्र र राष्ट्रियतामाथि विभिन्न क्षेत्रबाट हमला भइरहेको छ । यसलाई संरक्षण गर्न सबै नेता तथा कार्यकर्ता गम्भीर हुन जरुरी छ ।”

कमेन्ट गर्नुहोस्