काठमाडौं । नेपाली चलचित्र जारी ५१ औँ दिन मनाउन सफल भएको छ । चलचित्र सफलताको ठूलो मानक मानिने प्रदर्शनको ५१ औं दिने यात्रा यस वर्षका लागि चलचित्र ‘जारी’ले पूरा गरेको हो ।
गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र आज उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो । निर्माण कम्पनी बासुरी फिल्म्सले ५१ औं दिने खुसीमा एक पोस्टरमार्फत् दर्शकलाई धन्यवाद ज्ञापन गरेको छ ।
चलचित्रले ५१औं दिने यात्रामा १६ करोड ७५ लाख ग्रस कमाई गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिएको छ । कति हलमा अझै बक्स अफिस सिस्टम जडान नभैसकेकाले बोर्डको तथ्यांकभन्दा चलचित्रको कमाई १० प्रतिशत बढी हुनसक्ने देखिन्छ । यसरी हेर्दा चलचित्रको घरेलू बक्स अफिसमा साढे १७ करोड नजिक कमाई गरेको हुनसक्छ ।
नेपाली फिल्मको हकमा यो ठूलो अंक हो । उपेन्द्र सुब्बाको निर्देशनमा बनेको चलचित्रले विदेशी भूमिमा पनि जबर्जस्त कमाई गरेको छ । जापान, हङकङ, बेलायत, अमेरिका, अष्ट्रेलिया जस्ता देशमा चलचित्रका प्रायः शो हाउसफुल भएका छन् ।
लिम्बु समुदायमा प्रचलित जारी प्रथाको पृष्ठभूमिमा दयाहाङ राई र मिरुना मगरको प्रेमकथा बुनिएको ‘जारी’मा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको पनि अभिनय छ । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ निर्माता रहेको चलचित्रलाई निर्देशक सुब्बा स्वयंले लेखेका हुन् । डेब्यू फिल्मबाटै सुब्बाले निर्देशनमा सफलता र प्रशंसा दुवै पाएका छन् ।