काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् ।
इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाइ गरे । उनले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गरेका छन् । सो क्रममा मुख्यमन्त्री चौहानले भारत–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरू तयार रहेको बताए ।
उनले भारत र नेपालबीच सदियौँ पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले आजै इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरे ।
सो क्रममा उनले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोपेका थिए ।