काठमाडौं । घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । आज सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटको जित दर्ता गरेको हो । जितसँगै मलेसियाले पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेको छ ।
नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो । मलेसियाका लागि विनिफ्रेड दुराईसिंघमले ५२ बलमा ३८ रन बनाईन् । महिराह इज्जाती इस्माइलले २६ बलमा १६ रन बनाउँदा कप्तान मास इल्साले १८ बलमा १३ रन बनाईन् ।
नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान १-१ विकेट लिईन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाहुना टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको हो ।
पाहुना टोली नेपालका लागि इन्दु बर्माले ३१ बलमा ३ चौकाको सहयोगमा ३२ रन बनाईन् । सुरुआत राम्रो हुन नसकेको नेपालले पावर प्लेमा १३ रन बनाउँदा २ महत्वपूर्ण विकेट गुमाएको थियो ।
इन्दु बर्मा र बिन्दु रावलले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गरेसँगै नेपाल सम्मानजनक योगफलतर्फ गएको थियो । बिन्दु रावलले २६ बलमा २४ रन बनाईन् । सातौं विकेटका लागि रावलले कविता कुवँरसँग १८ रनको साझेदारी गरिन् । कविता १२ रनमा अविजित रहिन् । कविता, रावल र बर्मा बाहेक अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
घरेलु टोलीका लागि विनिफ्रेड दुराईसिंघमले ३ तथा एसा इलिसा र महिराह इज्जाती इस्माइलले समान १/१ विकेट लिए। पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल २-१ को अग्रतामा छ ।
नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गरेको थियो । मलेसियासँग २१ गते नेपालले पाँचौं तथा अन्तिम खेल खेल्नेछ ।