अत्यधिक गर्मी बढ्दै, सामुदायिक विद्यालय छ दिनका लागि बन्द

सिन्धुलीमाढी । सिन्धुलीको दुधौली नगरपालिकाले गर्मीका कारण आइतबारदेखि नगर क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालय छ दिनका लागि बन्द गरेको छ ।

विगत केही दिनदेखि बढको अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या परेकाले जेठ २१ गतेदेखि २६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार जेठ १९ गते सम्पन्न कार्यपालिकाको बैठकले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो । दुधौली नगरपालिकामा ७८ वटा सामुदायिक विद्यालय रहेको छ ।

गर्मीका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय भए पनि सञ्चालन भई रहेको कक्षा ११ को परीक्षा यथावत् रहने दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले जानकारी दिए । उनले विगत केही दिनदेखि बढेको गर्मीलाई मध्यनजर गरी सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको बताए ।

गर्मीका कारण बिद्यार्थीहरु पढ्न रुचि नदेखाउने, घर फर्किने समयमा घाम चर्किने भएकाले स्वास्थ्य समस्या आउन सक्ने, कक्षाकोठामा पङ्खा लगायतको सुविधा नभएको र कतिपय विद्यालयको छाना जस्तापाताको रहको लगायतका समस्यालाई मध्य नजर गरी सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्