काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सब्दुल मियाँ ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिएको आरोपमा पक्राउ गरेको हो। घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई आज विद्यालयबाटै पक्राउ गरेको बताइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आज प्रेस विज्ञप्ति जारी गर्दै भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले वडाअध्यक्ष मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।