काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गरेका छन् । आज बुटवल पुगेका प्रधानमन्त्री प्रचण्डलेआइएमी ग्रुपले गत जेठ १५ गते देखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको सो केबलकारको आज औपचारिक उद्घाटन गरेका हुन् ।
बुटवलमा पहिलो पटक केवलकार सञ्चालन भएको हो । बुटवलको वडा नं ३ मा बटम स्टेसन र पाल्पाको तिनाउ गाउंपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेसन रहेको केबलकारले यी दुवै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा ४५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ ।
स्थानीयको साथ र सहयोगले केबुलकार सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा ४५ प्रतिशत छुट गरिएको आइएमी ग्रुपका अध्यक्ष चन्द्र ढकालले बताए । केबलकारको गन्तव्य स्थान पाल्पाको वसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयाँ धार्मिक र पर्यटकीय गन्तव्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने ढकालको विश्वास छ ।
बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको छ । बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । २.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा उत्कृष्ट मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा)रहेका आयोजना प्रमुख गोकुल साउदले बताए ।
टप स्टेसनमा भारतको गुवाहटीमा रहको कामाख्यादेवीको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको साउदले उल्लेख गरे । केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ ।
पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जिप लाइन निर्माणको क्रममा छन् ।
केबलकार सञ्चालनमा आएसंगै टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेल लगायतका संरचना निर्माण हुने साउदले बताए । एक हजार दर कायम गरिएको टिकट शुल्कमा विद्यार्थीलाई ४५ प्रतिशत छुट गरिएको र ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको छ ।
यस्तै फरक क्षमता भएका नागरिकलाई दुईतर्फी टिकट शुल्क ३७५ मात्र कायम गरिएको छ । उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी ७५०, भारतीयलाई भारु ७५० र तेस्रो मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रालिले जनाएको छ ।