बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित भीडले जलायो बस

इटहरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने मोरङको उर्लाबारी नगरपालिका – ३ स्थित मंगलबारे नजिकै आज दिउँसो भएको सवारी दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो । मृतक पुरुष रहेको तर निजको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

बस चालकले लापरबाहीपूर्वक बस चलाएर दुर्घटना गराएको भन्दै आक्रोशित स्थानीय भिडले बसमा आगजनी गरेका छन् । बसमा लगाइएको आगो उर्लाबारी नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिए पनि बस जलेर नष्ट भएको छ ।

कमेन्ट गर्नुहोस्