भरतपुर महानगरपालिकाद्धारा दूधमा अनुदान अन्तर्गत रु ६ करोड १२ लाख रुपैयाँ हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिकाले बिहिबार दुग्ध कृषकहरुलाई अनुदान हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नेरेन्द्र कुमार रानाले कृषकलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन्।

आर्थिक वर्ष ०७९÷०८० दुग्ध सहकारीमा आवद्ध कृषकहरुले संकलन गरेको २ करोड ४ लाख लिटरको प्रति लिटर रु ३ रुपैयाँका दरले रु ६ करोड १२ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

आर्थिक वर्ष ०७४÷०७५ बाट भरतपुर महानगरपालिकाले दूधमा नेपालमै पहिलो पटक अनुदान दिन सुरु गरेको थियो । महानगरपालिकाले ०७४÷०७५ बाट २५ पैसाबाट अनुदान दिन सुरु गरेको थियो । गत आर्थिक वर्षमा ८ हजार ७ सय ३५ जनाले अनुदान पाएकोमा चालु आर्थिक वर्षमा ११ हजार ५ सय ३४ जनाले अनुदान लिएका छन् । अनुदान लिने कृषकको संख्या वृद्धि हुनु यो अनुदान प्रभावकारी बनेको पुष्टी भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरको दूध उत्पादनमा वृद्धि गर्न प्रोत्साहन गर्ने उदेश्यसहित २५ पैसाबाट सुरु गरिएको अनुदान प्रभावकारी देखिएको उल्लेख गरिन् । प्रदेशले दिने अनुदानलाई महानगरमार्फत रु ५ दिने गरी व्यवस्था मिलाउने अनुुरोध गरिएको पनि बताइन् ।
भरतपुर महानगरपालिकाले कृषकहरुलाई लक्ष्ति गरी पशु स्वास्थ्य घरदैलो उपचार, गोठ सुधार, पशु खरिदमा अनुदान, बाख्रा, बंगुर तथा हाँस वितरण गरिएको बताइन् ।

यस्तै विभिन्न यात्र उपकरण, प्राविधिक तालिम, ५ सय वटा काउ म्याट लगायतका समाग्री वितरण गरिएको उल्लेख गरिन् ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले कृषकहरुलाई थप व्यवसायीक बनाउन अनुदानले सहयोग पुराउने बताए। महानगरपालिकाले उत्पादन वृद्धि गर्ने नीति लिए अनरुप कृषिमा आधुनिकरणतर्फ जाने कार्यक्रमहरु ल्याईएको उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्