काठमाडौं । भारतलाई पराजित गरी अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । इंग्ल्यान्डको द ओभलमा सम्पन्न फाइनल खेलमा अष्ट्रेलिया २ सय ९ रनले विजयी भएको हो ।
अस्ट्रेलियाले दिएको ४ सय ४४ रनको लक्ष्य पछ्याएको भारत पाँचौँ दिनको पहिलो सेसनमा अलआउट हुँदै २ सय ३४ रन मात्र बनाउन सक्यो । भारतका विराट कोहलीले ७८ बलमा ७ चौकासहित ४९ रन बनाए । कोहली र अजिंक्या रहाणेले चौथो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए ।
कोहली र रहाणेको सो साझेदारीले भारतलाई खेलमा फर्काउने कोसिस गरेको थियो । तर, ४७ औँ ओभरमा स्कट बोल्यान्डले लगातार दुई विकेट गुमाए पछि अष्ट्रेलिया खेलमा पुरा हाबी भएको थियो ।
राहाणेले १ सय ८ बलमा ४६ रन बनाएका थिए । कप्तान तथा ओपनर रोहित शर्माले ६० बलमा ४३ रन बनाएका थिए । विकेटकिपर केएस भरतले ४१ बलमा २३ रन बनाए । चेतेश्वर पुजारा ४७ बलमा ५ चौकासहित २७ रनमा आउट भए । अष्ट्रेलियाका लागि नाथन लायनले ४ तथा स्कट बोल्यान्ड ३ विकेट लिए । मिचेल स्टार्कले आफ्नो नाममा २ विकेट गरे ।
त्यसअघि अस्ट्रेलियाले चौथो दिन दोस्रो इनिङ्समा २ सय ७० रन ८ विकेट गुमाएर समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा १ सय ७३ रनले पछि रहेको भारतले ४ सय ४४ रनको लक्ष्य पाएको थियो ।
दोस्रो ईनिङ्समा अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरी १ सय ५ बलमा ८ चौकासहित अविजित ६६ रन बनाए । मिचेल स्टार्क ५७ बलमा ७ चौकासहित ४१ रनमा आउट भए । सातौँ विकेटका लागि केरी र स्टार्कले ९३ रनको साझेदारी गरेका थिए । मार्नस लाबुसेन १ सय २६ बलमा ४१ र क्यामरन ग्रीन २५ रनमा आउट भए । स्टिभ स्मिथ ३४ र ट्रविस हेड १८ रन बनाउँदै आउट भए ।
भारतका रवीन्द्र जडेजाले ३ तथा मोहम्मद शामी र उमेश यादवको नाममा समान २(२ विकेट रह्यो । भारत पहिलो इनिङमा २ सय ९६ रनमा अलआउट भएको थियो । भारतका अजिंक्या रहाणेले १ सय २९ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ८९ रनको योगदान दिए । शार्दूल ठाकुर १ सय ९ बलमा ६ चौकासहित ५१ रनमा आउट भए ।
सातौँ विकेटका लागि रहाणे र ठाकुरले १ सय ९ रनको शतकीय साझेदारी गरेका थिए । रवीन्द्र जडेजा ५१ बलमा ७ चौका र १ छक्कासहित ४८ र कप्तान रोहित शर्मा १५ बनाए । शुभमन गिल १३ तथा विराट कोहली र चेतेश्वर पुजाराले समान १४/१४ रनमा बनाए ।
अष्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले ३ तथा मिचेल स्टार्क, क्यामरन ग्रीन र स्कट बोलान्डले समान २/२ विकेट लिए । नाथन लायनले एक विकेट लिए ।
त्यसअघि इंग्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङको गरेको अष्ट्रेलिया पहिलो इनिङमा ४ सय ६९ रनमा अलआउट भएको थियो ।
अष्ट्रेलियाका लागि ट्रविस हेडले १ सय ७४ बलमा २५ चौका र १ छक्कासहित १ सय ६३ रनको सानदार शतकीय इनिङ खेले । स्टिभ स्मिथ २ सय ६८ बलमा १९ चौकासहित १ सय २१ रनमा आउट भए । चौथो विकेटका लागि स्मिथ र हेडले ४ सय ८ बलमा २ सय ८५ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेपछि अस्ट्रेलियाले विशाल योगफल बनाएको थियो ।
विकेटकिपर एलेक्स केरी ६९ बलमा ७ चौका र १ छक्कासहित ४८ रनमा आउट भए । ओपनर डेविड वार्नर ६० बलमा ८ चौकासहित ४३ तथा मार्नस लाबुसेन २६ रन बनाए । भारतका मोहम्मद सिराजले ४ तथा मोहम्मद शामी र शार्दूल ठाकुरको नाममा समान २/२ विकेट रह्यो ।