काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० किलो नै सुन रहेको दाबी गरेको छ ।
मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिएका हुन् ।
थापाले सो जलहरीमा १० किलो सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए । आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले दुःख व्यक्त गरे । उनले आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै राज्यको नीति यहीँ हो ? भनि प्रश्न समेत गरे ।
सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरपयोग गरेर बाँच्नु नपर्ने पनि बताए । उनले यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनि सांसदहरुसँग जिज्ञासा समेत राखे ।
सदस्य सचिव थापाले सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताए त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उनको दाबी थियो । बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।