चेक बाउन्सको आरोपमा एमालेबाट निर्वाचित वडाध्यक्ष पक्राउ

धनगढी । चेक बाउन्स गरि ठगी गरेको आरोपमा दार्चुलाका एक वडाअध्यक्ष कैलालीमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर ४ मा नेकपा(एमाले)बाट अध्यक्ष कृष्णसिंह धामी रहेका छन्।उनी नेपाली कांग्रेसका कमल सिंह महतालाई २५ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए ।

उनले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए। तर, उक्त खातामा रकम नै नभएको भेउ पाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले थाहाखबर जानकारी दिए।

वडाअध्यक्ष धामीलाई उच्च अदालत दिपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो। तर, उनलाई हाजिर जमानीमा छाडिएको थियो।

त्यसपछि पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई यसै जेठ २५ गते पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनलाई मालाखेती, अत्तरियाको थुनामै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्