काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित नहुने बताएका छन्। भूमे पर्वको अवसरमा नेपाल मगर संंघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले जनगणनामा भएको जातिहरु बारेका विषयमा स्पष्ट गर्ने र आवश्यक कुरा सच्याउने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने, ‘‘नेपाल बहुजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधतासहितको देश हो । यो हाम्रो ऐतिहासिक विरासत र नेपालको एउटा विशिष्ट राष्ट्रिय पहिचानको अभिव्यक्ति पनि हो ।’’
प्रधानमन्त्रीले प्रकृतिको पुजा गर्नुको पछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गर्नुहुँदै मानिस पनि प्रकृतिकै एक अङ्ग भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘‘मानिस र प्रकृतिको बीचको सम्बन्ध कसरी सुरक्षित राख्ने र कसरी संरक्षण गर्ने भन्ने उद्देश्यसहित यस्ता पर्वहरु मनाउने गरिएको हो । मगर समुदाय मात्र नभई आदिवासी जनजाति सबैले नै प्रकृतिको पुजा गर्ने संस्कार छ । प्रकृतिको पुजा एउटा समुदायमा मात्रको सिमित छैन । प्रकृतिको संरक्षण र सुरक्षा गर्ने कुरा मानव जाति कै हितसँग जोडिएको छ ।’’
यस्ता पर्व मनाउनुको तात्पर्य नयाँ राष्ट्रिय एकता कायम गर्नु पनि भएको उनको भनाइ थियो । प्रकृतिलाई विनाश हुन नदिन र जलवायुको संरक्षण गर्ने कुरासँग सिङ्गो प्रकृति र मानिसबीचको अन्तरसम्बन्धलाई कायम गर्ने उद्देश्यद्वारा प्रेरित रहेको उनको धारणा थियो ।
प्रधानमन्त्री प्रचण्डले भने ‘‘मैले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकताका निम्ति आन्दोलन गर्दैगर्दा हिजोका राज्य संयन्त्रद्वारा सबै जातजाति, भाषाभाषी, वर्ग समुदाय अपमानित, उत्पीडन र विभेदमा पारिएका थिए । ती सबैलाई साथमा लिएर नै ठूलो आन्दोलनको सृष्टि भएको हो । ती सबै जातजाति, भाषाभाषी, वर्ग, क्षेत्रका जनसमुदायको संघर्ष र बलिदानको कारणले नै अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं । नेपालको राष्ट्रिय एकता र स्वाधिनताका साथै हामी सबैको अधिकार र पहिचानका पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’’