जानकीलाई ‘भारतकी बेटी’ भनिएको शब्द सेन्सर बोर्डले नै हटाउन लगाइएको थियो

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रालयले भने आदिपुरुष चलचित्रमा नेपालको एक राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय वेटीको रुपमा प्रस्तुत भएको संवादमा “भारतकी” शब्दलाई नेपालको सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नु पूर्वनै हटाउन लगाइसकिएको जनाएको छ ।

मन्त्रालयले उक्त संवादका सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यम तथा सरोकारवालाहरूबाट जनाईएका आपत्तिका विषयहरूमा समेत मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाद्धारा जारी विज्ञप्तिमा भनिएको छ- ‘नेपालमा चलचित्र वितरण गर्न अधिकार प्राप्त वितरक कम्पनी श्री व्यङ्कटेश इन्टरटेन्मेन्ट प्रा.लि., काठमाडौंले Retrophiles Pvt. Ltd., Mumbai र Super Cassettes Industries Pvt. Ltd., Mumbai बाट निर्माण तथा Om Raut द्वारा निर्देशित हिन्दी भाषाको कथानक चलचित्र आदिपुरुषको जाँचका लागि चलचित्र विकास बोर्डबाट मिति २०८० साल जेष्ठ २९ गतेको सिफारिस पत्र केन्द्रीय चलचित्र जाँच समितिमा प्राप्त भएकोमा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ तथा नियमावली, २०५७ को प्रावधान बमोजिम उक्त चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले मिति २०८० जेठ ३१ गते जाँच गर्दा नेपालको एक राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय वेटीको रुपमा प्रस्तुत भएको संवादमा “भारतकी” शब्दलाई हटाउन लगाई सो पश्चात मात्र चलचित्र जाँच पास प्रमाणपत्र दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको हो । नेपालको सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नु पूर्वनै हटाउन लगाइसकिएको उक्त संवादका सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यम तथा सरोकारवालाहरूबाट जनाईएका आपत्तिका विषयहरूमा समेत मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

कमेन्ट गर्नुहोस्