काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार दिउँसो कोशी प्रदेशका पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकन गरेका छन् । उनले सङ्खुवासभाको तुम्लिङटारमा ओर्लेर पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरेका छन् ।
प्रधानमन्त्रीले पीडितको उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयंसेवी संघसंस्थामा अपील पनि गरे ।
प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको आवासका लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताए ।
आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सङ्खुवासभामा एक जनाको मृत्यु भएको थियो भने १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखे । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।
खराब मौसमका कारण पाँचथर जान सकेनन प्रधानमन्त्री
बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न निस्केको प्रधानमन्त्री प्रचण्डसहितको टोली प्रतिकूल मौसमको कारण पाँचथरमा अवतरण हुन भने सकेन ।