काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा एकता र स्वतन्त्रतको नयाँ बाटो भएको बताएका छन् ।
सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मोर्चा घोषणाको दुरगामी महत्व रहेको बताएका हुन् ।
अहिले बनेको समाजवादी मोर्चामा आवद्ध सबै दलको हैसियत स्वतन्त्र हुने र उदेश्यमा एकताबद्ध रहने पनि बताए ।
‘हामी अहिले समाजवादी मोर्चामा रहँदा पनि सबै पार्टी स्वतन्त्र हैसियतमा हुन्छन्’, उनले भने, ‘हामी अब देशलाई समाजवादी मोर्चामार्फत समृद्धि र सामाजिक न्याययुक्त देशमा लैजान्छौँ।’
अहिलेसम्मका सिकाई र अनुभवबाट पाठ सिकेर मोर्चाको बाटोबाट एकताबद्ध हुने बाटोमा अगाडी बढिएको उनले बताए ।
सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले समाजवादसम्म पुग्न आफ्नै पहलमा एमालेसँग एकता गरिएकाे भए पनि लामो समय टिकाउन नसक्दा पछुताउने अवस्था आएको बताए।
एमालेसँग हतारमा एकता गर्नु भन्दा मोर्चा बनाएको भए विभाजन हुने थिएन कि भन्ने उनको आशय थियो। ‘हामीले यसैगरी त्यसबेला पनि पहिले समाजवादी मोर्चा बनाउनु पर्थ्यो’, उनले भने, ‘पहिले यस्तै मोर्चा बनाएर विचार, सिद्धान्त र कार्यनीति मिलाउँदै गएको भए टिक्ने रहेछ। कार्यकर्तामा पनि अन्तरघुलन गर्दै एकता गरेको भए राम्रो हुने थिए छ।’
जनताको अपार माया सदभाव र आकर्षण हुँदाहुँदै पनि नेकपा जोगाउन नसकिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले मार्चामा ती सिकाइको आधारमा एमाले लगायतका दलहरू पनि मोर्चामा आउँनुपर्ने बताए ।
प्रचण्डले अहिले शान्ति प्रक्रिया उल्ट्याउने खेल भइरहेको बताउँदै परिवर्तन र संघीयतासहितका उपलब्धि उल्ट्याउन खोज्नेविरुद्ध अब समाजवादी मोर्चा डटेर उभिने पनि बताएका छन्।