आर्थिक अभाव झेल्दै आएको हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड

मनहरी । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो ।

संस्थाका अनुसार उद्योग हालसम्म रु ९० करोडको घाटामा चलिरहेको छ । आव २०७४/७५ मा उद्योगले एक लाख नौ हजार सात सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । यसमा एक लाख छ हजार तीन सय ३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो भने रु एक अर्ब ६८ करोड ३८ लाख ६४ हजार नौ सय १७ आम्दानी गरेका थियो भने रु एक अर्ब ५२ करोड २६ लाख एक हजार चार सय १८ खर्च भई रु १६ करोड ३६ लाख तीन हजार चार सय ९९ नाफा कमाएको थियो । यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्याङ्क छ ।

आव २०७५/७६ मा उद्योगले एक लाख नौ सय ६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा एक लाख चार हजार पाँच सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु एक अर्ब ६४ करोड २० लाख १८ हजार तीन सय १८ आम्दानी गरेकामा रु एक अर्ब ६५ करोड २५ लाख ५९ हजार चार सय ५४ खर्च भई रु एक करोड पाँच लाख ४१ हजार एक सय ३६ नोक्सानी व्यहोरेको थियो ।

त्यसपछि आव २०७६/७७ मा उद्योगले ८१ हजार नौ सय ८९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ७२ हजार सात सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु एक अर्ब एक करोड तीन लाख तीन हजार पाँच सय ४३ आम्दानी गरेकोमा रु एक अर्ब २४ करोड ८५ लाख २७ हजार पाँच सय ५१ खर्च भई रु २३ करोड ८२ लाख २४ हजार उद्योगलाई घाटा भएको थियो ।

यस्तै आव २०७७/७८ मा उद्योगले ८९ हजार दुई सय २५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ९२ हजार छ सय ८८ मेट्रिक टन सिमेन्ट बिक्री गर्दा रु एक अर्ब २२ करोड ४८ लाख ४८ हजार ४३ आम्दानी गरेकामा एक अर्ब ३९ करोड ५२ लाख ८८ हजार सात सय ११ खर्च रु १७ करोड चार लाख ४० हजार छ सय ६९ उद्योगलाई घाटा भएको थियो ।

यसैगरी, आव २०७८/७९ मा उद्योगले ८५ हजार दुई सय ५६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ८० हजार छ सय ९८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु एक अर्ब चार करोड ३४ लाख ८६ हजार दुई सय ९५ आम्दानी गरेकामा रु एक अर्ब २७ करोड ८९ लाख ९७ हजार दुई सय ६४ खर्च भई रु २३ करोड रु ५५ लाख १० हजार नौ सय ६९ उद्योग घाटामा गएको थियो ।

यस्तै, आव २०७९/८० मा रु एक अर्ब दुई करोड ३९ लाख ८४ हजार आठ सय ४० आम्दानी गर्न सफल रहेको उद्योगले रु एक अर्ब १३ करोड ५५ लाख ४८ हजार दुई सय ३५ खर्च गरेको थियो । यो आवमा उद्योगलाई रु ११ करोड १५ लाख ६३ हजार तीन सय ९५ घाटा भएको महाप्रबन्धक पाण्डेले बताए ।

उद्योगमा कच्चापदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ ।

कमेन्ट गर्नुहोस्