काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव वर्षमान पुन (अनन्त) ले राजनीतिक र प्रशासनिक नेतृत्वले जनतासँगको संवाद बढाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बुधबार पुनले जनताको विश्वास जित्न नेतृत्वले संवाद गर्नुपर्ने तथा उनीहरूका प्रश्न र गुनासाको जवाफ दिनुपर्ने उल्लेख गरेका हुन्।
प्रजातान्त्रिक र खुला समाजको चरित्र नै नेतृत्व जनतासँग संवादमा रहनु भए पनि त्यसो हुन नसक्दा समाजमा भ्रम पैदा हुने गरेको उनको भनाई थियो ।
सरकार र सरकारी निकायको उच्च नेतृत्वमा रहेकाहरूले सेवा प्रवाहका क्रममा कुनै समस्या वा सीमितता भए नढाँटी जनतालाई बताउन सक्नुपर्ने उनले बताए ।
‘सरकार र सरकारी निकायको नेतृत्वमा भएकाहरूले जनताका हरेक सवालका जवाफ दिनुपर्छ। समस्या छन् भने बताउन सक्नुपर्छ’, पुनले भने, ‘सरकारी निकायका पनि समस्या र सीमितता हुन्छन्। यो संसारभरकै सरकारका हकमा लागू हुन्छ। सबै कुरा भनेकै समयमा र भनेको जसरी नहुन सक्छ। तर, सरकारी सेवा प्रवाहमा भएका समस्याबारे जनतासँग संवाद गर्नु डेमोक्रेटिक व्यवस्थामा अनिवार्य पक्ष हो।’
काममा ढिलाइ हुँदा वा सेवा प्रवाह प्रभावकारी नहुँदा सेवाग्रामीमा मन्त्री र सचिवले पक्कै पनि चलखेल गरेको हुनुपर्छ भन्ने मनोविज्ञान विकास हुने पुनले उल्लेख गरे।
जनतासँग संवाद नहुँदा कतिपय अवस्थामा नेतृत्वमाथि नखाएको विष पनि लाग्ने गरेको चर्चा उनले गरे।
‘राजनीतिक र प्रशासनिक नेतृत्वमा रहेकाहरू फरक र सेवाग्राही फरक मानिस हुन् भन्ने व्यवहार बन्द हुनुपर्छ। सेवाग्राही र जनताहरू सधैं हेपिनुपर्छ भन्ने मनोविज्ञान छ’, उनले भने, ‘नेतृत्वमा रहेकाहरूले गल्ती भएको अवस्थामा सरी भन्न सक्नुपर्छ।’
‘खाएको विष लाग्नु त स्वाभाविक छ, तर कुनै बेला नखाएको विष पनि लाग्ने गरेको छ’, उनले भने, ‘यो राजनीतिक र प्रशासनिक नेतृत्वको कमजोरीका कारणले भएको हो।’
जनतामा राजनीतिक नेतृत्व र प्रशासकहरूले आफूहरूलाई जहिले पनि हेपिने गरेको मनोविज्ञान रहेको भन्दै उनले दुई पक्षबीच संवाद हुन नसक्दा यस्तो अवस्था आएको बताए।
राज्यका निकाय, मन्त्री र सेवा लिन आउने सर्वसाधारण सबै बराबर हुन् भन्ने व्यवहारबाटै स्थापित गर्न राजनीतिक र प्रशासनिक नेतृत्व गम्भीर बन्नुपर्नेमा पुनले जोड दिए।
सेवाग्राहीले प्रश्न गरिरहने र शासनमा बस्नेहरू जवाफ नदिई चुपचाप बस्नाले संस्कृतिका कारण गल्ती नगर्नेहरूले समेत गाली खाने गरेको उनको तर्क छ।
‘यो संस्कृति नबदल्दासम्म असल मानिसले पनि गाली खाइरहन्छ। खराबले त गाली खाने नै भयो’, पुनले भने।