काठमाडौं । समाजवादी मोर्चा नेपाल निकट युवा संगठनहरूको संयुक्त बैठक नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ ।
नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र संसद बाहिर रहेका विप्लव निकट नेकपा कम्युनिस्ट पार्टीका युवा संगठनहरुको संयुक्त बैठक बसेका हुन ।
हिजो भर्खरै राष्ट्रिय सभागृहमा घोषणा भएको उक्त मोर्चाले स्थानीय स्तरसम्म संगठन विस्तार गर्ने कार्यक्रम तयसंगै युवा संगठनले पनि त्यसको तयारी थालेका छन् ।
संघीयता, लोकतन्त्र,सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजबादको स्थापना गर्ने मुख्य उदेश्य सहित घोषणा भएको उक्त मोर्चाको युवा संगठनहरुले मोर्चा निर्माणमा पहल गरेका शिर्ष नेताहरूलाई धन्यवाद दिएका छन् ।
साथै बैठकमा बाढी पहिरोको कारण ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको काममा गर्नुको साथै सरकारसंग उचित क्षतिपूर्ति र राहत व्यवस्थापनका लागि माग गरेका छन् ।
पछिल्लो समय नेपाली राजनीतिमा सामन्तवादका अवशेष तथा प्रतिगामी शक्तिद्वारा प्रगतिशील, अग्रगामी र परिवर्तनकारी दल र दलका नेताहरू विरुद्ध गरिएका अराजनैतिक अभद्र हर्कद प्रति बैठकमा खेद प्रकट गर्दै त्यस्ता गतिविधि विरुद्ध राजनीतिक रुपमा शसक्त प्रतिवाद गर्ने वाइसीएल नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले जानकारी गराए ।
बैठकपछि वाइसीएल नेपालका अध्यक्ष सुबोधराज शेर्पाली संगै युवा संगठन नेपालका अध्यक्ष पाटन जंगली सी, समाजवादी युवा संघका श्याम शिल्पकार, युवा संघ नेपालका दिपक जिएमको संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन ।